बाजुराको जगन्ना गाउँपालिकाले अध्यक्ष रोजगार कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले अति विपन्न घरधुरीलाई एक महिनाको रोजगारी दिनका लागि गाउँपालिकामा अध्यक्ष रोजगार कार्यक्रम सञ्चालन गरेको अध्यक्ष कालीबहादुर शाहीले बताए । आर्थिक वर्ष ०७६/७७ मा ६ वडाका १ सय ८० जनाले ३० दिन रोजगारी प्राप्त गरेका थिए ।
आर्थिक वर्ष ०७७/७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध हुन चाहने युवाहरूका लागि ०७७ साउनमा आवेदन मागेको थियो । गाउँपालिकाबाट १ हजार ६३ जना प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएका छन् । सरकारको नीतिअनुसार रोजगार व्यवस्थापन सूचना प्रणालीले प्राथमिकताका आधारमा युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजनामा सयजना, प्रधानमन्त्री रोजगार कार्यक्रममा १ सय ७९ जना र अध्यक्ष रोजगार कार्यक्रममा ६० जना छनोट गरी जम्मा ३ सय ३८ जनाले गाउँमै राजगारी पाएको अध्यक्ष शाहीले बताए । एकजनाले प्रतिदिनमा ५ सय १७ रुपैयाँका दरले गाउँपालिकाबाट सय दिनको रोजगारी पाएका छन् । प्रत्येक योजनामा १० देखि १५ जनाको समूह बनाएर काम सञ्चालन गरिएको छ । गाउँपालिकाले औजार, सामग्री खरिद र ढुवानीका लागि ५० लाख विनियोजन गरेको अध्यक्ष शाहीले बताए ।
गाउँपालिकामा अध्यक्ष रोजगार र प्रधानमन्त्री रोजगार कार्यक्रममा चालू वर्ष ज्यालाबापत १ करोड ७४ हजार विनियोजन भएको छ । खानेपानी योजना २ वटा, सिँचाइ ९ वटा, विद्यालयका घेराबार ९ वटा र बाटो निर्माण ७ वटा गरी कुल २६ वटा भौतिक पूर्वाधारका योजनाहरू निर्माण प्रक्रियामा छन् । अध्यक्ष बेरोजगार कार्यक्रम सञ्चालन भएपछि जगन्नाथ गाउँपालिकाका बेरोजगारहरू निकै खुसी भएको स्थानीयवासी भरत विकले बताए ।उनले भने, ‘पहिला सधैँ भारतलगायत खाडी मुलुक जाने गरेका थियौँ, तर गाउँमै बेरोजगार युवालाई रोजगार कार्यक्रम आएपछि विदेश जानुपर्ने बाध्यता हटेको छ ।’
सयौँ बेरोजगार युवाहरू गाउँपालिका अध्यक्ष रोजगार कार्यक्रम सञ्चालन भएपछि रोजगारी भएको उनले बताए ।