
सप्तरी – पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठकमा जस्तोसुकै परिस्थिति आए पनि पछि नहट्न निर्देशन दिइएको छ ।
अध्यक्षद्वय प्रचण्ड र नेपालले केन्द्रीय कमिटी सदस्यहरूलाई निर्वाचन आयोग र अदालतले जे पनि फैसला गर्न सक्ने भन्दै जस्तोसुकै परिस्थितिका लागि तयार रहन निर्देशन दिएका हुन् ।
‘भोलिका दिनमा सहज परिस्थिति आउन पनि सक्ला र अप्ठेरो पनि आउन सक्ला,’ अध्यक्ष प्रचण्डको भनाइ उदृत गर्दै केन्द्रीय सदस्य धर्मशीला चापागाईंले लोकान्तरसँग भनिन्, ‘कानून र संविधानसम्मत ढंगबाट हेर्ने हो भने निर्वाचन आयोग र अदालतले हाम्रो पक्षमा फैसला गर्नुपर्ने हुन्छ । तर चीज त्यता नजान पनि सक्छ ।’
आफ्नो पक्षमा फैसला आउनुपर्ने आधारहरू प्रचण्डले प्रस्तुत गरेका थिए ।
आजको बैठकमा आएका केन्द्रीय सदस्यहरूले पार्टीको परिचयपत्र र नागरिकतासमेत बोकेर आएका थिए । निर्वाचन आयोगमा आवश्यक परे सशरीर उपस्थित हुनुपर्ने भएकाले केही दिन केन्द्रीय सदस्यहरूलाई उपत्यकाबाहिर नजानसमेत भनिएको थियो ।