
सप्तरी – अमेरिकाका मध्य तथा दक्षिणी राज्यमा आएको हिमआँधीका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ । त्यसैगरी टेक्सास राज्यका लाखौं मानिस विद्युत सेवाबाट बञ्चित भएका छन् ।
मंगलबार आएको आँधीले कोरोना खोप वितरणलाई पनि प्रभावित पारेको छ । यसको असर आइतबारसम्म रहने बताइएको छ ।टेक्सास, लुसियाना, केन्टुकी र मिजौरीलगायत राज्यमा कम्तिमा २३ जनाको मृत्यु भएको बताइएको छ । नर्थ क्यारोलाइना, ओरेगन राज्यमा पनि यसको असर परेको छ ।
बिजुली नभएपछि मानिसहरूले कोठा तताउन पाएका छैनन् भने इन्टरनेटको पहुँचबाट पनि बाहिरिएका छन् । तापक्रम माइनसमा झरेपछि सडकमा गाडी चलाउन पनि कठिन भएको छ । सुपरमार्केटहरूमा मानिसको भीड लाग्न थालेको छ । केही राज्यहरूमा मंगलबार विद्यालयहरू बन्द गरिएका छन् ।
चिसो मौसम र तीव्र हावाले अधिकारीहरूलाई मागअनुसार बिजुली आपूर्ति गर्न कठिनाइ भएको हो । माइनस १८ डिग्रीसम्म तापक्रम पुगेको टेक्सासमा एकातिर माग बढेको थियो, अर्कातिर हावाबाट बिजुली निकाल्ने टर्बाइनहरू जमेका थिए भने ग्यास-फायर पावर प्लान्टले पनि काम गर्न छोडेका थिए।
हिमआँधीको असर छिमेकी मेक्सिकोमा पनि देखिएको छ । त्यहाँका विभिन्न राज्यहरूमा पनि विद्युत सेवा अवरूद्ध भएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रभावित राज्यहरूमा आपतकालीन सहयोग गर्न आफ्नो प्रशासन तयार रहेको बताएका छन् । उनले टेक्सासमा आपतकालको घोषणा गरेका छन् ।